काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् ।
रास्वपाले फागुन २१ कबध निर्वाचनमा प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।
रास्वपबाट फागुन २१ को निर्वाचनपछि बालेन्द्र प्रधानमन्त्री हुने सहमति गत पुस १३ गते नै भइसकेको छ । निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकको परिणाम अन्तिम चरणमा पुगिरहँदा दुवै नेतासँग मोदीले संवाद गरेका हुन् ।
उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् । सोमबार एक्स (ट्विटर) मार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका हुन्।
मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।