काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पछि सरकारमा सहभागी भएका केही चर्चित व्यक्तित्वहरू प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। आन्दोलनपछि जनस्तरमा लोकप्रियता हासिल गरेका व्यक्तिहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर केही महिनामात्रै मन्त्रीका रूपमा काम गरेपछि उनीहरूले जननिर्वाचित प्रतिनिधि बन्ने उद्देश्यले पद त्याग्दै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।
ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङलाई सहरी विकास तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा काम गर्दै उनले देशलाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण उनी जनमानसमा निकै लोकप्रिय बनेका थिए। घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत हुन्। उनले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए। त्यसैगरी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका जगदीश खरेललाई सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको थियो।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। विज्ञान तथा प्रविधि क्षेत्रका प्रतिष्ठित वैज्ञानिक तथा समाजसेवी डा.महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिइएको थियो। उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। यस्तै लामो समयबाट समाज सेवामा सक्रिय रहेका युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका बब्लु गुप्ताले पनि रास्वपाबाट सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार सिरहा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बब्लु गुप्ता ४१ हजार ३३३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का रामशङ्कर यादवले ७ हजार ७६६ मत पाएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत र जसपा नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।
त्यसैगरी ललितपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।खरेलले ३९ हजार ९४१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत ल्याएका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५४७ मत र नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत प्राप्त गरेका छन्। ललितपुर–२ मा कुल ८९ हजार ८२ मतदाता रहेकामा ६१ हजार ९७५ मत खसेको थियो। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन २२ हजार ८५० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत र नेपाल कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो। पुनले शिक्षा क्षेत्र सुधार, अनुसन्धान प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था मिलाउने मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै चुनाव लडेका थिए। तर ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ भने काठमाडौँ क्षेत्र नम्बर ३ मा पराजित भएका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
उनी पाण्डेसँग ७ हजार ५८६ मतान्तरले पराजित भएका हुन्। नेपाली कांग्रेसका रमेश अर्यालले ५ हजार १३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन्। घिसिङको पराजयलाई लिएर आम जनमानसमा विशेष चासो देखिएको छ। जेनजी आन्दोलनपछि सरकारमा पुगेका चार चर्चित व्यक्तित्वमध्ये तीन जना प्रतिनिधिसभामा निर्वाचित हुँदा घिसिङ भने पराजित भएका छन्। निर्वाचन परिणामले नयाँ राजनीतिक शक्तिहरू तथा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण बढिरहेको संकेत गरेको विश्लेषण गरिएको छ।