काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनबाट ऐतिहासिक सफलता हासिल गरेको छ। पार्टीबाट १३ जना महिला उम्मेदवारहरूले प्रत्यक्षतर्फ जित निकाल्दै संसद प्रवेश गरेका छन् भने एक जना नेपाली कांग्रेसबाट विजयी भएकी छन्। यसरी कुल १४ जना महिलाले प्रत्यक्ष निर्वाचन मार्फत प्रतिनिधिसभा सदस्य बनेका छन्।
रास्वपाले पुराना दलहरूलाई चुनौती दिँदै धेरै क्षेत्रमा फराकिलो मतान्तरले जित हासिल गरेको छ। यी महिलाहरू विभिन्न पृष्ठभूमिबाट आएका छन्— सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, अधिवक्ता, व्यवसायी, पत्रकारदेखि कृषकसम्म। उनीहरूको जितले नयाँ पुस्ता र वैकल्पिक राजनीतिको उदयलाई प्रतिबिम्बित गरेको छ।
यी हुन् प्रत्यक्ष निर्वाचित १४ महिला सांसदहरूः
इन्दिरा राना मगर (रास्वपा) — झापा क्षेत्र नं. २ सामाजिक अभियन्ता तथा पूर्व उपसभामुख। कैदीबन्दीका सन्तानहरूको शिक्षाका लागि लामो समय काम गरेकी उनले ६० हजार ११० मत प्राप्त गर्दै ठूलो अन्तरले जितिन्।
निशा डाँगी (रास्वपा) — झापा क्षेत्र नं. १ पूर्व पत्रकार तथा संसद्की कान्छी सांसद (२०७९ मा समानुपातिकबाट)। युवा छवि र संसदीय अनुभवले यसपटक प्रत्यक्ष जित हासिल गरिन्।
सोविता गौतम (रास्वपा) — चितवन क्षेत्र नं. ३ अधिवक्ता तथा पूर्व काठमाडौं–२ बाट विजयी। ५९ हजार २७७ मतसहित फराकिलो जित हात पारेकी हुन ।
नीतिमा भण्डारी कार्की (रास्वपा) — सर्लाही क्षेत्र नं. १ ४४ हजार १८१ मतसहित कांग्रेसका प्रतिद्वन्द्वीलाई ३६ हजार मतले पराजित गर्दै विजय भएकी हुन ।
तोसिमा कार्की (रास्वपा) — ललितपुर क्षेत्र नं. ३ बाट ४३ हजार ९६ मतसहित फराकिलो जित हात परेकी हुन ।
आशिका तामाङ (रास्वपा) — धादिङ क्षेत्र नं. १ बाट ३९ हजार १२८ मतसहित पुराना दलका हेभिवेटहरूलाई पछि पार्दै २४ हजारभन्दा बढी मतान्तरले विजयी भएकी हुन ।
पुष्पाकुमारी चौधरी (रास्वपा) — सप्तरी क्षेत्र नं. १ बाट ३८ हजार १९५ मतसहित ३० हजारभन्दा बढी मतान्तरले निर्वाचित भएकी हुन ।
बिना गुरुङ (रास्वपा) — कास्की क्षेत्र नं. ३ महिला सशक्तीकरण तथा शिक्षा अभियन्ता समेत रहेकी गुरुङ ३७ हजार ७५० मतसहित फराकिलो जित पारेकी हुन ।
रुविना आचार्य (रास्वपा) — मोरङ क्षेत्र नं. ६ बाट ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन ।
आशा झा (रास्वपा) — मोरङ क्षेत्र नं. ५ बाट ३० हजार ४३४ मतसहित विजय भएकी हुन।
कोमल ज्ञवाली (रास्वपा) — कैलाली क्षेत्र नं. १ बाट १७ हजार ८२६ मतसहित विजयी भइन ।
रञ्जु दर्शना (न्यौपाने) (रास्वपा) — काठमाडौं क्षेत्र नं. १ बाट १५ हजार ४५५ मतसहित विजयी भएकी हुन ।
गौरी कुमारी यादव (रास्वपा) — महोत्तरी क्षेत्र नं. ४ बाट २८ हजार ९९१ मतसहित विजयी भएकी हुन ।
बासना थापा (नेपाली कांग्रेस) — दैलेख क्षेत्र नं. १ बाट १२ हजार ३७२ मतसहित साँघुरो ५७६ मतान्तरले जित्दै कांग्रेसको पुरानो विरासत फर्काइन्।
यी महिलाहरूको सफलताले रास्वपाको प्रत्यक्षतर्फको वर्चस्वलाई मजबुत बनाएको छ। पार्टीले १२५ सिट भन्दा बढी क्षेत्रमा जित वा अग्रता कायम गरेको देखिन्छ। उनीहरूले बाढीपीडित समस्या, बेरोजगारी, महिला उद्यमशीलता, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य जस्ता मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
यो निर्वाचनले नेपालको राजनीतिमा महिलाको प्रत्यक्ष भूमिका बढाउने सन्देश दिएको छ। रास्वपाका यी महिला सांसदहरूले अब संसदमा नीति निर्माणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।