काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम आफ्नो अनुकूल हुन नसकेपछि जनताको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेपालले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ उक्त परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका हुन्।
उनले उक्त निर्वाचनमा विजयी भएका राजेश चौधरीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। साथै तारा चिन्हमा मतदान गरी आफूमाथि विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनी र चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै नेपालले मतले हार–जित भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता कहिल्यै हार नमान्ने बताएका छन्। अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने उनले स्पष्ट पारेका छन्।
उनले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम गर्दै सुसंस्कृत तथा समृद्ध समाज निर्माणका लागि निरन्तर आवाज उठाइरहने बताएका छन्।
साथै समाज र राजनीतिमा देखिएका विकृति–विसंगतिका विरुद्ध निरन्तर संघर्ष गर्दै जनताको सेवा, हित र समृद्ध तथा गौरवपूर्ण नेपाल निर्माणका लागि आफ्नो बाँकी जीवन समर्पित गर्ने बताएका छ्न् ।