काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा जारी कोशी प्रदेशका केही निर्वाचन क्षेत्रमा ‘श्रम संस्कृति पार्टी’ले उत्साहजनक उपस्थिति जनाएको छ। प्रारम्भिक मतपरिणामअनुसार पार्टीका उम्मेदवारहरूले धनकुटा र पाँचथरमा अग्रता कायम गरेका छन्।
धनकुटामा श्रम संस्कृतिको अग्रता
धनकुटाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा (एमाले)का राजेन्द्रकुमार राईले १ हजार ४० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ७३४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दिनेश राईले १४४ मत प्राप्त गरेका छन्।
पाँचथरमा ब्रबिम शेर्माको अग्रता
पाँचथरमा पनि श्रम संस्कृति पार्टीले आफ्नो बलियो उपस्थिति देखाएको छ। मिक्लाजुङ गाउँपालिका–१ को खान्द्रोङ मतदान केन्द्रमा खसेको ९ सय ८० मतको गणनामा पार्टीका उम्मेदवार ब्रबिम शेर्माले ३०३ मतका साथ अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ (१८५ मत) र नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङ (१७५ मत)ले पछ्याइरहेका छन्।
सुनसरी–१ मा रास्वपाकी गोमा तामाङ अगाडि
यता, पार्टी अध्यक्ष हर्कराज साम्पाङको प्रभाव क्षेत्र मानिएको सुनसरी–१ मा भने श्रम संस्कृति पार्टीका साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन्।
पछिल्लो विवरणअनुसार रास्वपाकी गोमा तामाङले ४६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङले १५४ मत ल्याएका छन्। त्यसैगरी, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ (१०७), राप्रपाका उद्दव श्रेष्ठ (९५), नेकपाका सूर्यबहादुर भट्टराई (४१) र एमालेका टिकाराम लिम्बुले २० मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।