काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन्।
निर्वाचन आयोगका अनुसार मोरङका सबै क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरण अनुसार क्षेत्र नम्बर ३ बाहेक अन्य क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि देखिएका छन्। कांग्रेस, एमाले, नेकपा र जसपा नेपालका उम्मेदवार भने पछाडि परिरहेका छन्। मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी उम्मेदवार रूविना आचार्यले उल्लेखनीय अग्रता बनाएकी छन्। ५ हजार ७३४ मत गणना हुँदा उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले ७२८ मत ल्याएका छन् भने नेकपा एमालेका विनोद ढकाल ६२७ मतसहित पछि छन्।
त्यस्तै, मोरङ क्षेत्र नम्बर ५ मा पनि रास्वपाकी उम्मेदवार आशा झाले बलियो अग्रता बनाएकी छन्। उनले ३ हजार ९७९ मत प्राप्त गरेकी छन्। उनलाई जसपा नेपालका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित पछ्याइरहेका छन् भने नेकपाका शिवकुमार मण्डल १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन्। यता मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी फराकिलो मतान्तरसहित अगाडि छन्। उनले ११ हजार ५६४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरे २ हजार ६४८ मतसहित पछाडि परेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर सुरुवाती परिणामले मोरङमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत देखिएको छ।