काठमाडौँ । सानै उमेरदेखि वैकल्पिक राजनीतिको आवाज उठाउँदै आएकी रञ्जु दर्शना अन्ततः प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी छन्। २२ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर राष्ट्रिय चर्चा कमाएकी उनी करिब ९ वर्षपछि संघीय संसद् पुग्न सफल भएकी हुन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए भने राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएर तेस्रो स्थानमा सीमित भए। रञ्जु दर्शना नेपाली राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने अनुहारका रूपमा चिनिन्छिन्। उनी १७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यतिबेला देशमा बारम्बार हुने बन्द–हड्तालका कारण सर्वसाधारणले दुःख पाइरहेका थिए। त्यसको विरोध गर्दै रञ्जु सडकमा उत्रिइन् र ‘बन्द बहिष्कार अभियान’मा सक्रिय भूमिका खेलिन्।
राजनीतिसँगै उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहिन्। २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि राहत वितरण र पुनर्स्थापनाको काममा उनी अग्रपंक्तिमा देखिइन्। भूकम्पपीडितलाई सहयोग जुटाउने अभियानमा उनी स्वयंसेवकका रूपमा खटिइन्। साथै, डा। गोविन्द केसीले भ्रष्टाचार र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै गरेको आन्दोलनका क्रममा पनि उनले खुलेर समर्थन जनाएकी थिइन्। २०७४ सालको स्थानीय तह निर्वाचन रञ्जुका लागि ठूलो मोड सावित भयो। केवल २२ वर्षको उमेरमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिइन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनको उम्मेदवारीले देशभर ठूलो चर्चा पायो। त्यतिबेला उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्। यद्यपि उक्त निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भए।
तर त्यो चुनावले रञ्जुलाई राष्ट्रिय राजनीतिमा चिनाउने महत्वपूर्ण अवसर बन्यो। युवाहरूले पनि राजनीतिमा सक्रिय भूमिका खेल्न सक्छन् भन्ने सन्देश उनले त्यतिबेलै दिएका थिइन्। २०७८ सालतिर विवेकशील पार्टीभित्र आन्तरिक विवाद बढेपछि उनले पार्टीबाट राजीनामा दिइन् र केही समय स्वतन्त्र रूपमा राजनीतिक तथा सामाजिक गतिविधिमा संलग्न रहिन्। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा ‘सेलरोटी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिन्। तर त्यसबेला उनको पक्षमा पर्याप्त मत आएन र उनले करिब ६०० मत मात्र प्राप्त गरिन्।
यद्यपि हारले उनलाई निराश बनाएको देखिएन। बरु उनले आफ्नो राजनीतिक यात्रालाई अझ सुदृढ बनाउने प्रयास जारी राखिन्। २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्यसमेत बनिन्। यसपटक भने रास्वपाबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी रञ्जुले उल्लेखनीय मतसहित विजय हासिल गरिन्। यो जितले उनको लामो संघर्ष र निरन्तर प्रयासको परिणाम देखाएको छ। काठमाडौँ को मैतीदेवी क्षेत्रमा स्थायी बसोबास गर्दै आएकी रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्। सानै उमेरदेखि राजनीति, सामाजिक सेवा र नागरिक आन्दोलनमा सक्रिय रहँदै आएकी रञ्जुको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उनको राजनीतिक यात्रा यस कुराको उदाहरण बनेको छ कि उमेरभन्दा पनि दृढता, निरन्तरता र परिवर्तनको चाहना भए युवाहरूले पनि देशको नेतृत्वमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।