काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापाका केही क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा आउन थालेको छ। हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।
सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्। झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन अगाडि देखिएका छन्। २ हजार ३०३ मत गणना हुँदा उनले १ हजार ४७८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत, नेकपाका रञ्जित तामाङले ६१ मत र श्रम संस्कृति पार्टीका शिवन मगरले १४९ मत पाएका छन्।
झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। त्यसमध्ये १ लाख ६ हजार ३७२ मत खसेको थियो। यता झापा क्षेत्र नम्बर २ मा पनि रास्वपाकी उम्मेदवार इन्दिरा राणा मगरले सुरुवाती अग्रता बनाएकी छन्। २ हजार ४१२ मत गणना हुँदा उनले १ हजार ५९९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले २७५ मत ल्याएका छन्। मतगणना जारी रहेकाले आगामी परिणाम अझै परिवर्तन हुन सक्ने बताइएको छ।