काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएकोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले खुशी व्यक्त गरेका छन्। जटिल राजनीतिक परिस्थितिलाई सहज बनाउन घोषणा गरिएको निर्वाचनले विभिन्न आशंका चिर्दै सफलतापूर्वक सम्पन्न भएको उनले बताएका छन्।
निर्वाचन सफल बनाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले प्रणालीलाई थप सुदृढ बनाएको उनको भनाइ छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।