काठमाडौँ । गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गरेका छन्। उनले देशव्यापी रूपमा मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेसका तर्फबाट सम्मान र कृतज्ञता प्रकट गरेका छन्।
थापाले निर्वाचनमा सहभागी मतदाताको सक्रियताले लोकतन्त्रप्रतिको नेपाली नागरिकको विश्वासलाई थप सुदृढ बनाएको बताएका छन्। साथै यसले राजनीतिक दल र बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उनको भनाइ छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि उनले धन्यवाद दिएका छन्। उनले केही निर्वाचन क्षेत्रमा भएका घटनाबाहेक समग्रमा निर्वाचन सफल भएको उल्लेख गरेका छन्।