काठामाडौँ । चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना खरेलले मतदातालाई निर्भिक भएर मतदान गर्न आग्रह गरेकी छन्। निर्वाचनका क्रममा विभिन्न मतदान केन्द्रहरूको भ्रमणपछि उनले निर्वाचन स्वच्छ र शान्तिपूर्ण वातावरणमा भइरहेको प्रतिक्रिया दिइन्।
उनले मतदाताको उत्साहजनक सहभागिताले आफूलाई थप हौसला मिलेको बताइन्। निर्वाचन अभियानमा हार्दिकता र सकारात्मक प्रतिस्पर्धा देखिएको उल्लेख गर्दै उनले मतदातासँग आत्मीय सम्बन्ध अनुभव भएको पनि बताइन्। ‘अहिलेसम्म मैले भ्रमण गरेका क्षेत्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको पाएको छु। मतदाताले निर्भिक भएर मतदान गरिरहनुभएको छ र उत्साह पनि देखिएको छ, उनले भनिन्। चुनावी परिणामबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा खरेलले मतदाताको उत्साह र सहभागितालाई नै आधार मानेर आकलन गर्न सकिने प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘मतदातामा देखिएको लहर र उत्साहले नै परिणामको संकेत दिन्छ।’ साथै, उनले सबै मतदातालाई विवेकपूर्ण तरिकाले मतदान गर्न आग्रह गरिन्।