काठमाडौँ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन्।
प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीयले मतदान नगर्ने निर्णय गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीका अनुसार बिहान १० बजेसम्म उक्त क्षेत्रमा एक जनाले पनि मतदान गरेका छैनन्। मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदाता उपस्थित नहुँदा मतदान प्रक्रिया प्रभावित भएको हो।
उक्त केन्द्रमा कुल ७०१ जना मतदाता रहेका छन्। तर स्थानीयले आफ्नो माग पूरा नभएसम्म मतदानमा सहभागी नहुने अडान लिएका छन्।
स्थानीयले लामो समयदेखि प्रादेशिक अस्पताल निर्माणको माग गर्दै आएका छन्। सो मागप्रति सरकारले ध्यान नदिएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरेका हुन्।
स्थिति समाधानका लागि स्थानीय प्रशासनले पहल गरिरहेको बताइएको छ। प्रशासनले स्थानीयसँग संवाद गरी मतदानमा सहभागी हुन आग्रह गरिरहेको जनाएको छ।