काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले देशलाई सुशासनको गन्तव्यसम्म पुर्याउन नसक्ने बताएका छन्।
बिहीबार काठमाडौँ–४ अन्तर्गत मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गरेपछि उनले आजको राजनीतिक बहसको मुख्य विषय सुशासन भएको उल्लेख गरे। तर, आवेग र आरोप–प्रत्यारोपमा आधारित राजनीति गरेर सुशासन हासिल गर्न नसकिने उनको भनाइ थियो।
थापाले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न स्पष्ट प्रतिबद्धता, जिम्मेवार नेतृत्व र सुझबुझपूर्ण सुधार आवश्यक रहेको बताए। उनले राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा पनि नीतिगत सुधार र संस्थागत सुदृढीकरणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
यस अवसरमा उनले निर्वाचन सफलतापूर्वक सञ्चालनका लागि निर्वाचन आयोग तथा सरकारलाई धन्यवाद पनि दिए। नेपाली कांग्रेसका सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्।