काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आज सुरु भएको छ। यो निर्वाचनमा चर्चामा रहेका शीर्ष नेताहरूले आफैँलाई भोट हाल्न पाउँदैनन्।
नेपाली कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यसअघि काठमाडौं–४ मा जित्दै आएका थापा अहिले सर्लाही पुगेका छन्। उनले काठमाडौंको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि आफैँलाई भोट हाल्न पाउँदैनन्। उनी चितवन–२ बाट उम्मेदवार बनेका छन्। उनले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ।
यस्तै, रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाहले पनि आफैँलाई भोट हाल्न पाउँदैनन्। उनी झापा ५ बाट चुनाव लडेका छन्। तर उनले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्नेछन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भक्तपुरबाट मतदान गर्नेछन्। झापा–५ बाट निरन्तर जित्दै आएका ओलीले सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि आफैँलाई भोट हाल्न पाउँदैनन्। उनले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्। चितवन ३ मा प्रचण्डकी छोरी रेनु दाहाल उम्मेदवार छिन्।
यस पटक प्रचण्ड आफैँ भने रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। चितवनमा मतदान गरेपछि रुकुम पूर्व जाने तय भएको प्रचण्ड सचिवालयले जनाएको छ।