काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यसपटकको चुनावमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट तीन हजार ४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला र १ अन्य) चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार (१,३६३ पुरुष र १,७७२ महिला) प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ । त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ ।