काठमाडौँ । नेपालमा राष्ट्रपति र उपराष्ट्रपति संवैधानिक पद भएकाले उनीहरू सामान्यतया आम निर्वाचनमा मतदान प्रक्रियामा सहभागी हुँदैनन्।
दलीय राजनीतिक प्रभावभन्दा माथि रहेर पदको गरिमा र निष्पक्षता कायम राख्न यस्तो परम्परा रहेको बताइन्छ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था छ। यस निर्वाचक मण्डलमा संघीय संसदअन्तर्गत प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरू सहभागी भई मतदानमार्फत राष्ट्रप्रमुख र उपराष्ट्रप्रमुख चयन गर्छन्।
नेपालको संविधानको धारा ६७ ले उपराष्ट्रपतिको व्यवस्था गरेको छ भने राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारी संवैधानिक दायित्वमा केन्द्रित रहेको छ। राष्ट्रप्रमुखको भूमिका राजनीतिक प्रतिस्पर्धाभन्दा माथि रहने भएकाले मतदान प्रक्रियामा सहभागी नहुने अभ्यास रहँदै आएको छ।
पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी पनि कुनै निर्वाचनमा मतदान प्रक्रियामा सहभागी भएको पाइएको छैन।
स्रोतका अनुसार वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि यस पटक मतदानमा सहभागी नहुने सम्भावना रहेको छ। यद्यपि, कानुनले राष्ट्रपति वा उपराष्ट्रपतिलाई मतदान गर्न पूर्ण रूपमा निषेध गरेको छैन, तर साझा र तटस्थ पदको गरिमालाई ध्यानमा राख्दै उनीहरू मतदानबाट अलग रहने परम्परा रहेको बताइन्छ।