काठमाडौ । गृहमन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी पूर्णरूपमा पूरा भएको जनाएको छ ।
बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय कामहरू अन्तिम रूप दिन सफल भएको गृह मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी रहेको बैठक करिब तीन घण्टा चलेको थियो । मन्त्रालयका अनुसार बैठकमा सबै जिल्लाबाट मतदान सामग्री मतदान स्थलसम्म पुगेको, सुरक्षा संयन्त्र तयार भएको र कर्मचारी व्यवस्थापन पूरा भएको बताईएको छ । यस क्रममा देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र कुनै अप्ठ्यारो स्थिति नदेखिएको पनि बैठकले जनाएको छ।
बैठकमा निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन र सम्भावित चुनौतीको सामना गर्न रणनीति तय गर्ने विषयमा छलफल भएको थियो। गृहसचिव श्रेष्ठले निर्वाचनको सुरक्षालाई अझ प्रभावकारी बनाउने निर्देशन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएका छन्।
मन्त्रालयले शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न सबै आवश्यक तयारी पूरा भइसकेको भन्दै नागरिकलाई निर्वाचनमा निर्धक्क भएर भाग लिन आह्वान गरेको छ।