काठमडौँ । पुष्पकमल दाहाल प्रचण्ड ले देश अहिले दुई प्रकारका अतिवादको खतरासँग जुधिरहेको बताएका छन्। फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले सडक र संसद् दुवैबाट खबरदारी गर्दा पनि सरकार नसुध्रिएको भन्दै कुशासनका कारण देश अराजकताउन्मुख बनेको टिप्पणी गरे। एकातर्फ जनताको निराशा र आक्रोशलाई उक्साएर अराजकतामा धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा आधारित यथास्थितिवाद देशका लागि खतरा रहेको उनको भनाइ छ। वाम आन्दोलनलाई बलियो बनाउँदै यी दुवै अतिवादसँग जुध्न सकिने भन्दै उनले क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यक रहेको बताए।
हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठन प्रक्रिया अघि बढाइएको र विभिन्न कम्युनिस्ट तथा समाजवादी समूहसँग सहकार्य भइरहेको उनको दाबी छ। आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कडा कदम चालेको, प्रशासनिक सुधार, संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा योगदान गरेको उनले उल्लेख गरे। समावेशिता, महिला, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो पार्टीले भूमिका खेलेको उनको भनाइ थियो। उनले भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने प्रणाली स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई सामाजिक न्याय, स्थायित्व र समृद्धिका लागि आफ्नो दलको चुनाव चिह्न ‘तारा’मा मतदान गर्न अपिल गरे।