कास्की । अर्जुन खनालले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि कडा टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार खनालले राष्ट्रपतिको कार्यालयले राष्ट्रिय हित विपरीत निर्णयहरूमा मौन समर्थन दिएको आरोप लगाएका हुन्।
खनालले भने, `७७–७८ जना नागरिक मारिँदा र सयौँ घाइते हुँदा समेत नआत्तिनु भनेर भन्नसम्म नसक्ने व्यक्ति देशको अभिभावक बन्न सक्दैन। जनताको दुःख–पीडामा संवेदना व्यक्त गर्न नसक्ने नेतृत्वले राष्ट्रको अभिभावकत्व दाबी गर्न मिल्दैन।´
उनले थपे, `एमसीसी राष्ट्रघाती सम्झौता थियो। त्यो सम्झौता राष्ट्रपतिको कार्यालयबाट फिर्ता हुनुपर्थ्यो। देशको हित विपरीत छ भनेर पुनर्विचारका लागि फर्काउन सकिन्थ्यो। तर त्यसो नगरी पारित हुन दिनु भनेको राष्ट्र र नेपाली जनताको पक्षमा नउभिनु हो।´
खनालले राष्ट्रप्रमुखको दायित्व केवल औपचारिक नभई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र जनभावनाको संरक्षण गर्नु रहेको उल्लेख गर्दै भने, `जसले राष्ट्रघाती सम्झौता देशको हित विपरीत छ भनेर फिर्ता गर्न सक्दैन, ऊ यो देशको अभिभावक बन्न सक्दैन।´
उनले आगामी निर्वाचनमा जनतालाई राष्ट्रहितको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गर्दै आफू सशक्त राष्ट्रिय अडानका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।