काठमाडौँ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिबद्धता गरेको छ ।
बिहीबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ।
व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भन्ने मुख्य नारासहित पार्टीले सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई प्रमुख चुनावी मुद्दा बनाएको छ। वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको निष्कर्ष निकाल्दै यस पार्टीले चुनाव प्रणालीमै परिवर्तन गर्ने उद्घोष गरेको छ। कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता निम्तिएको भन्दै कम खर्चिलो र सरल अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।
त्यसैगरी, जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानलाई खारेज गर्ने अतिवादी सोचलाई परास्त गर्दै, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट पार्टीले लिएको छ। लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई थप सुदृढ गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य अपिलमा राखिएको छ।