काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माले) बिच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई दलबिच सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा एक–अर्कालाई सहयोग गर्ने औपचारिक सहमति भएको हो ।
दुई दलबिच भएको सहमति पत्रअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका सुदूरपश्चिमका १६ वटै प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउन नेकपा (माले)ले सहयोग गर्ने उल्लेख गरिएको छ ।
सहमतिअनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संङठनात्मक संरचना साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुनेछन् । निर्वाचन प्रचार–प्रसारका क्रममा एक–अर्काको विचार, सिद्धान्त, झण्डा र संङठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि तालमेल आवश्यक भएको सहमति पत्रमा उल्लेख गरीएको छ ।
