काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको हुन् ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचारहरु सार्वपनिक भएका थिए । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए ।
सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए । तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर थिए ।डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका थिएनन् ।
उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन आउन अब केबल एक हप्ता बाँकी छ ।