पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अर्जुन खनालले राज्यले चाहना राखे र सही नीति तथा इमानदार व्यक्ति जिम्मेवारीमा पुगेमा सुकुम्बासी समस्या एक हप्ताभित्र समाधान गर्न सकिने बताएका छन्।
कास्की क्षेत्र नम्बर ३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्बासी समस्यालाई राजनीतिक स्वार्थका कारण ज्यूँका त्यूँ राखिएको आरोप लगाए।
उनले भने, “राज्यले स्पष्ट निर्णय गर्ने हो भने सुकुम्बासी समस्या एक हप्ताभित्र समाधान गर्न सकिन्छ। समस्या समाधान नहुनुको कारण न नीति अभाव हो, न स्रोतको कमी; समस्या दलाल, बिचौलिया र उनीहरूलाई संरक्षण गर्ने नेताहरूका कारण हो।”
खनालले सुकुम्बासी बस्तीलाई पटक–पटक ‘भोट बैंक’ का रूपमा प्रयोग गरिएको दाबी गर्दै वास्तविक समाधानतर्फ कसैले गम्भीर पहल नगरेको बताए। “चुनाव नजिकिँदा आश्वासन दिने, तर चुनावपछि बेवास्ता गर्ने प्रवृत्तिले सुकुम्बासी समुदाय अन्यायमा परेको छ,” उनले भने।
उनका अनुसार वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थित बसोबास, जग्गा व्यवस्थापन र पारदर्शी प्रक्रिया अपनाए समस्या समाधान सम्भव छ। “राजनीतिक संरक्षणमा गलत व्यक्तिले फाइदा लिने र वास्तविक सुकुम्बासी पीडित हुने अवस्था अन्त्य गर्नुपर्छ,” उनले जोड दिए।
कार्यक्रममा उनले सुशासन, पारदर्शिता र दृढ राजनीतिक इच्छाशक्ति भए सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने दाबी गरे। समस्या को समाधान गर्न आफू लाइ मत दिन समेत आग्रह गरेका थिए ।