काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्यबाट हटाइएको छ । कर्णाली प्रदेशसभा सचिवालयले आज पदबाट हटाइएको जानकारी गराएको हो ।
सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो । नेपाली कम्युनिष्ट पार्टीले माघ २८ गते राजकुमार शर्मालाई कारबाहीको लागि प्रदेशसभालाई पत्र काटेको थियो ।
शर्मा ०७९ मा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी एकतामा सहभागी भएका थिएनन् ।
उनी हाल जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रदेश इन्चार्ज छन् । माओवादीमा छँदा दल नेता रहेका शर्माले केही समयअघि नै राजीनामा दिइसकेका थिए । ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।
