पोखरा । कास्की क्षेत्र नम्बर ३ मा पर्यटन क्षेत्र संकटतर्फ उन्मुख भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अर्जुन खनालले सुशासन र इमानदार नेतृत्वको अभावका कारण अवस्था बिग्रिएको बताएका छन्। पोखरामा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले देशमा बढ्दो भ्रष्टाचार र कमजोर सुशासनका कारण गुणस्तरीय पर्यटक नेपाल भित्र्याउने वातावरण बन्न नसकेको दाबी गरे।
खनालले पर्यटन उद्योग क्रमशः धराशायी बन्दै गएको उल्लेख गर्दै भने, “पोखरा र कास्की ३ मा प्राकृतिक सौन्दर्य, हिमाल, ताल र सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि हामीले गुणस्तरीय पर्यटक आकर्षित गर्न सकेका छैनौँ। यसको मुख्य कारण नीति निर्माण तहमा गलत नियत भएका व्यक्तिहरू पुग्नु हो।”
उनले विगतमा सत्ता सम्हालेकाहरूको कमजोर कार्यशैली र अनियमितताले पर्यटन क्षेत्रलाई अपेक्षित गति दिन नसकेको आरोप लगाए। “देशमा चरम भ्रष्टाचार हुँदा सुशासन कायम हुन सकेन, सुशासन नभएपछि लगानीको वातावरण बनेन, र त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ,” उनले भने।
उम्मेदवार खनालले कास्की ३ लाई पर्यटकीय हबका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए। पूर्वाधार सुधार, सेवा गुणस्तर वृद्धि, लगानीमैत्री वातावरण र पारदर्शी प्रशासनमार्फत मात्र पर्यटन क्षेत्र पुनर्जीवित गर्न सकिने उनको भनाइ थियो।
“कास्की ३ मा पर्यटकको घुइँचो लगाउन सकिन्छ, तर त्यसका लागि इमानदार र राष्ट्रहितप्रति प्रतिबद्ध नेतृत्व चाहिन्छ,” उनले भने, “अब यो अवस्था बदल्नुपर्छ, त्यसका लागि वैकल्पिक सोच र सुशासन आवश्यक छ।” कार्यक्रममा उनले राष्ट्रियता, सुशासन र आर्थिक समृद्धिलाई आफ्नो मुख्य चुनावी एजेण्डा रहेको स्पष्ट पार्दै कास्की ३ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरे। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।