कास्की । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँए सँगै कास्की ३ को चुनाव पनि रोचक बन्दै गईरहेको छ ।
तीन क्षेत्र रहेको कास्कीमा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका तीनै सिट नेकपा एमालेले जितेको थियो। ती क्षेत्रहरूमध्ये कडा प्रतिस्पर्धाबीच कास्की क्षेत्र नं. ३ को चुनावी अभियान दिनप्रतिदिन रोचक बन्दै गएको छ। कुल १,०७,५६० मतदाता रहेको यस क्षेत्रमा १५ राजनीतिक दलबाट १५ जना उम्मेदवारहरूको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
अघिल्लो निर्वाचनमा जित हात पारेका ५९ वर्षीय दामोदर पौडेल बैरागी यसपटक पनि नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा होमिएका छन् भने नेपाली कांग्रेसबाट ५८ वर्षीय मनोज गुरुङ अगाडि सरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट ७० वर्षीय गोपाल गिरि निर्वाचनमा होमिएका छन् । उम्मेदवारहरूमध्ये गिरि उमेरका आधारमा ज्येष्ठ छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५३ वर्षीय बिना गुरुङलाई उठाएको छ भने नेपाल मजदुर किसान पार्टीले ४५ वर्षीय मिना न्हीसुतु, मंगोल नेशनल अर्गानाइजेसनले ५२ वर्षीय जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीले ६२ वर्षीय टेकबहादुर सार्की, नेपाल जनमुक्ति पार्टीले ४० वर्षीय मिनबहादुर थापा, नेशनल रिपब्लिक नेपालले ४२ वर्षीय तिर्थ गुरुङ, श्रम संस्कृति पार्टीले ६१ वर्षीय हितकाजी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ४६ वर्षीय कमल खड्का विश्वकर्मा, उज्यालो नेपाल पार्टीले ६३ वर्षीय तर्कबहादुर गुरुङ, नेपाल मातृभूमि पार्टीले ५० वर्षीय ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीले ५३ वर्षीय कुसल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ३६ वर्षीय अर्जुन खनाल निर्वाचनमा होमिएका छन्। सबै उम्मेदवारमध्ये खनाल सबैभन्दा कान्छा उम्मेदवार हुन्।
गत भदौमा भएको जेन–जी आन्दोलनपश्चात आएको राजनीतिक उथलपुथलले यो निर्वाचनलाई दलबीचको मात्र नभई पुस्ताबीचको निर्वाचनजस्तै बनाएको छ। विशेषतः युवा विद्यार्थीहरूले नेतृत्व गरेको आन्दोलनको मागअनुसार भएको निर्वाचन भएकाले मतदाताहरू युवा र सक्षम उम्मेदवारलाई आफ्नो मत दिने बताउँछन्।
कास्की–३ मा पनि यसपटक मतदाताको मनोविज्ञान परिवर्तनतर्फ झुकेको संकेत मतदातासँगको प्रतिक्रियामा हामीले पाएका छौं। नयाँदेखि पुराना दलहरूले अगाडि सारेका सबै उम्मेदवारहरू ४२ देखि ७० वर्ष उमेरसम्मका रहेका छन् भने जेन–जी तथा युवाहरूको प्रतिनिधित्व गर्ने एक मात्र उम्मेदवार अर्जुन रहेकोले मतदाता उनीसँग प्रभावित रहेको पाइएको छ। पोखरा लेकसाइड, मुस्ताङ र धादिङमा होटल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालन गरी २०० जनालाई प्रत्यक्ष रोजगारी दिएका पर्यटनकर्मी अर्जुनका सामाजिक सञ्जालमा आएका प्रतिक्रिया तथा घरदैलो अभियानमा देखिएका दृश्यहरूले पनि उनी मतदाताहरूको रोजाइको विकल्प बन्ने संकेत देखाएका छन्।
कास्की क्षेत्र नं. ३ का मतदाता गौरव सुवेदीले आफूले १५ वर्षदेखि चिनेका अर्जुन खनाल बोल्ने होइन, गर्ने व्यक्ति भएकाले आफ्नो र आफ्नो परिवारको मत अर्जुन खनाललाई रहेको बताए।
त्यस्तै अर्का मतदाता ईश्वर रिमालले हिन्दु धर्म, राजसंस्था तथा संघीयता खारेजीजस्ता देश जोगाउने एजेन्डा बोकेको पार्टी र उम्मेदवारको एजेन्डाबाट प्रभावित भएकाले खुलेर अर्जुनको पक्षमा मत माग्ने गरेको बताए। कास्की–३ कै अर्की जेन–जी मतदाता बिमला पौडेलले हरेक चुनावमा उही बहाना लिएर तिनै उम्मेदवारहरू आउने र नयाँ भएकाहरू विवादै–विवादको घेरामा रहेकाले यसपटक युवा, शिक्षित तथा भरोसायोग्य अर्जुन नै आफ्नो क्षेत्रको रोजाइ हुने दाबी गर्छिन्।
घरदैलो अभियानमा मतदाताको अत्यधिक माया पाएको र अन्य दलमा मतदान गर्ने बानी बसेका मतदाताहरूले पनि उम्मेदवार, उनका एजेन्डा तथा पार्टीले गरेका प्रतिबद्धता रुचाएकाले यसपटक कास्की क्षेत्र नं. ३ मा अर्जुन खनाललाई विजयी गराउनेमा कुनै शंका नभएको राप्रपाका केन्द्रीय सहमहामन्त्री जगत सुवेदी बताउँछन्।
यसैबीच हामीले सम्पर्क गर्दा उम्मेदवार अर्जुन खनालले आफू घरदैलोमा व्यस्त भएको र मतदाताको अपार समर्थन पाएकाले यो पटक देश जोगाउने उम्मेदवार भएकैले आफूले चुनाव जित्ने छोटो प्रतिक्रिया दिए। हामीले एजेन्डाका विषयमा बुझ्न खोज्दा उनले भने, “देश बनाउने एजेन्डा घोषणापत्रमा त नअटाएर भिडियो सामग्रीमार्फत मेरो वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक गरेको छु। फोनमा सम्भव होला र हजुर? त्यति हेर्नु पर्ला है, प्लिज।”
जे होस्, कास्की–३ मा शिक्षित र वैदेशिक अनुभव बोकेका युवाको संख्या उल्लेख्य छ। पुराना अनुहारप्रति निराशा र नयाँ ऊर्जा खोज्ने प्रवृत्ति बढ्दो छ। घरदैलोमा प्रत्यक्ष भेटघाट, समस्या सुन्ने शैली र समाधानको स्पष्ट खाका प्रस्तुत गर्दा युवाको समर्थन मतमा बदलिने सम्भावना बलियो त छ नै, तर मतदानको दिनसम्म त्यसलाई सक्रिय र उत्साहित राख्न सके भने परिणाममा ठूलो प्रभाव पर्न सक्छ।
त्यस्तै सामाजिक सञ्जालहरूमा धेरैले अर्जुनलाई ऊर्जावान, पहुँचयोग्य र प्रत्यक्ष संवाद गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। पुराना राजनीतिक शैलीभन्दा फरक, घरदैलोमा खुला छलफल गर्ने शैलीलाई धेरैले प्रशंसा गरेका छन्। युवाहरूले डिजिटल पोस्टर, भिडियो क्लिप र स्टाटसमार्फत समर्थन जनाएका उदाहरणहरू देखिएका छन्।
यो समर्थन वास्तवमै कृत्रिम प्रचारभन्दा बढी भावनात्मक जोडका रूपमा आएको हो भने अहिले देखिएको सकारात्मक ऊर्जा मतदान केन्द्रसम्म पुर्याउने रणनीति नै निर्णायक हुनेछ र परिणाम रोचक मात्र होइन, ऐतिहासिक पनि हुन सक्नेछ।