काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेकी छन् ।
नमूना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुषालले राणा कुनै दाग नलागेको, भ्रष्टाचार विरोधी र अत्यन्तै इमान्दार नेता भएको बताइन् । उनले उदयशमशेर राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने कुरामा जोड दिँदै उनको विजय नै क्षेत्रको विकासको आधार भएको बताइन् ।
सम्बोधनका क्रममा भुषालले कांग्रेस अब पूर्ण रूपमा बदलिएर नयाँ परिवेशमा आएको र यो देशको नेतृत्व अब पार्टी सभापति गगनकुमार थापाले गर्ने ठोकुवा गरिन् । विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताउँदै उनले राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिइन् । बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यसपटक मत नदिने उनको दाबी छ ।
राष्ट्रको मुहार फेर्ने संकल्प कांग्रेसले लिएको बताउँदै उनले कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिन देशभरका र विशेष गरी गोदावरी क्षेत्रका नेपाली महिलाहरूलाई विशेष आह्वानसमेत गरिन् ।
उदय शमशेर राणा जस्ता इमान्दार र क्षमतावान् नेतालाई जिताउनु नै ललितपुर क्षेत्र नं. १ को समग्र विकास, सुशासन र नागरिकको भविष्यको ग्यारेन्टी भएको उनको तर्क छ ।