काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिँदै पाँच वर्षभित्र उल्लेखित योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।
बालेनले संघीय सांसदको हैसियतले आफूले निर्वाह गर्ने भूमिका स्पष्ट पार्दै शिक्षा, पूर्वाधार विकास, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा सुधारका योजनाहरू अघि सारेका छन्। खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण, सुशासन तथा कला–संस्कृतिको प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्।
वाचापत्रमा उनले स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रभावकारी प्रत्यायोजन सुनिश्चित गर्न संसद्मा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भए संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत योजनाहरू निर्धारित समयसीमाभित्र सम्पन्न गरिने उनले बताएका छन्।
बालेनले राजनीतिलाई पेशा नभई सेवा मान्ने दृष्टिकोण प्रस्तुत गर्दै संसद्मा बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने दाबी गरेका छन्। राष्ट्रहित विपरीत कुनै पनि सम्झौतामा संलग्न नहुने र सार्वजनिक सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ।
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै गरिब तथा विपन्न परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकार व्यवहारमै सुनिश्चित गर्ने उनको योजना रहेको छ। ‘जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्ने सन्देशसहित उनले वाचापत्र सार्वजनिक गरेका छन्। झापा–५ मा यस घोषणापत्रले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

