काठमाडौँ । आगामी फागुन २१ मा हुने निर्वाचनमा सर्लाही क्षेत्र नम्बर –४, झापा क्षेत्र नम्बर–५ र चितवन क्षेत्र नम्ब –३ मा कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ। यी तीन क्षेत्रमा उम्मेदवारको राजनीतिक पृष्ठभूमि, विकासको छवि, संगठनात्मक शक्ति र मतदाताको बदलिँदो मनोविज्ञानले निर्वाचन परिणाम प्रभावित गर्न सक्ने देखिएको छ।
सर्लाही क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका गगन कुमार थपा यसपटक भूगोल परिवर्तन गर्दै मधेस क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। विगत डेढ दशक काठमाडौँ–४ लाई राजनीतिक आधार बनाएका थापाले मधेसको आवाज सिंहदरबारसम्म पुर्याउने उद्देश्य राखेका छन्। शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य एजेन्डा बनाएका थापा प्रखर वक्ता र तार्किक नेताका रूपमा चिनिन्छन्। विद्यार्थी राजनीतिबाट उदाएका थापा संविधानसभा सदस्य, सांसद र स्वास्थ्यमन्त्रीसमेत भइसकेका छन्। तर नयाँ भूगोलमा मतदातासँग सम्बन्ध विस्तार गर्नुपर्ने र संगठनात्मक साथ जुटाउनुपर्ने चुनौती उनीसँग रहेको विश्लेषण गरिएको छ।
झापा–५ मा पूर्वप्रधानमन्त्री खड्क प्रसाद ओली मुख्य प्रतिस्पर्धी मानिएका छन्। विकास निर्माण र बलियो संगठनात्मक संरचना उनको मुख्य शक्ति मानिन्छ। विगतमा झापा क्षेत्रमा भएका पूर्वाधार विकासले मतदातासँग सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको दाबी गरिन्छ। तर युवा मतदातामा बढ्दो परिवर्तनको चाहना र नयाँ राजनीतिक शक्तिको आकर्षणले प्रतिस्पर्धा पेचिलो बन्न सक्ने अनुमान छ। उनको प्रतिस्पर्धीका रूपमा बालेन शाहको उपस्थितिले निर्वाचनलाई थप रोचक बनाएको छ। बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। । फरक शैलीको राजनीतिक यात्राका कारण चर्चामा रहेका शाह युवा पुस्तामाझ लोकप्रिय मानिन्छन्। इन्जिनियरिङ र र्यापर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका शाहले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, डिजिटल शासन र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएका छन्। सामाजिक सञ्जालको प्रभाव र परिवर्तनको चाहना बोकेको मतदाताको समर्थन उनको बल मानिएको छ। तर संगठनात्मक संरचनाको अभाव र परम्परागत राजनीतिक मतदाताको बफादार प्रवृत्ति उनका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ।
चितवन क्षेत्र नक्बर –३ मा रेणु दाहाल प्रतिस्पर्धामा छिन्। भरतपुर महानगर प्रमुख हुँदा उनले पूर्वाधार विकास, नदी कटान नियन्त्रण, शिक्षा र स्वास्थ्य सेवाको विस्तारमा काम गरेको दाबी गर्दै विकासको छवि आफ्नो मुख्य राजनीतिक आधार भएको बताउँदै आएकी छन्। यस क्षेत्रमा कांग्रेसलगायत अन्य दलको संगठनात्मक साथ कमजोर रहेको र स्विङ मत परिणाम निर्धारण गर्ने महत्वपूर्ण तत्व बन्न सक्ने अनुमान गरिएको छ । सोविता गौतम उनको प्रतिस्पर्धीका रूपमा छिन्। युवा मतदातालाई आकर्षित गर्ने रणनीतिसहित चुनावी मैदानमा उत्रिएकी गौतम कानुन विषयमा स्नातक गरेकी छन् र टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोताको रूपमा समेत काम गरिसकेकी छन्। समग्रमा विकासको छवि, संगठनात्मक शक्ति, युवा मतदाताको मनोविज्ञान र राजनीतिक रणनीतिले यसपटकको निर्वाचन परिणाम प्रभावित गर्न सक्ने अनुमान गरीएको छ ।