काठमाडौं । सुदूरपश्चिमको डडेलधुराबाट पटक–पटक सांसद बनेर ५ पटक प्रधानमन्त्री बनेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छैनन् ।
२०७८ सालदेखि हालसम्म अपराजित देउवाले अन्तिम पटक चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर कांग्रेसमै विद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति छानिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिले यस पटक देउवाको ठाउँमा नैनसिंह महरलाई टिकट दिएको छ ।
देउवा चुनाव बाहिर हुँदा कांग्रेसलाई डडेल्धुराका शाख जोगाउन निकै संघर्ष गर्नुपरिररहेको छ । उनी निर्वाचन क्षेत्रमा समेत पुगेका छैनन् । देउवा निकटका केही कार्यकर्ताहरूले चुनावी अभियानमा जिल्ला आउन आग्रह गरे पनि उनले बेवास्ता गरिरहेका छन्, जसका कारण कांग्रेसलाई शाख जोगाउन हम्मे पर्ने देखिएको छ ।
सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यसपटक निर्वाचनबाट बाहिर छन् । लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन ।
जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएको थिए । सो क्षेत्रमा कांग्रेसले यसपटक हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसको गढ नै मानिन्छ । कांग्रेसले वर्चश्व जमाएको क्षेत्रमा लेखक २०५६, २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए । अब सुदूरपश्चिममा देउवाविना हुने निर्वाचन कस्तो परिणाम ल्याउला भन्ने चासो बढेको छ ।