काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत आदर्श कोतबाल गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।
नेपाली काङ्ग्रेस मा प्रवेश गर्नेहरूमा नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, परित्याग गरेका नेता–कार्यकर्ता रहेका छन्। शुक्रबार बिहान आयोजित कार्यक्रममा बारा क्षेत्र नम्बर १ का काङ्ग्रेस उम्मेदवार शम्भु बुढाथोकी तथा सिम्रौनगढ नगरपालिकाका पूर्व प्रमुख एवं क्षेत्रीय सभापति विजयशङ्कर यादवले पार्टीमा स्वागत गरेका हुन्।
काङ्ग्रेस प्रवेश गरेका सन्तोष कुमार गुप्ताले जनताको सुख–दुःखमा साथ दिने पार्टी भएकाले आफूले काङ्ग्रेस रोजेको बताए। उनले भने, “कङ्ग्रेसले मधेसका लागि दिएको योगदान हजुरबुबा र बुबाबाट सुनेको छु। अहिले गगन थापा सभापति भएपछि काङ्ग्रेसमा थप ऊर्जा देखिएको छ। जनताको सुख–दुःखमा साथ दिने पार्टी भएकाले मेरो झुकाव काँग्रेसतर्फ रह्यो र काङ्ग्रेस रोजें।”
त्यस्तै, नेकपा परित्याग गरेका प्रेमलाल साहले गरिब तथा दुःखी जनताको सहारा कांग्रेस भएकाले आफू पार्टीमा प्रवेश गरेको बताए। काङ्ग्रेस प्रवेश गर्नेहरूमा सन्तोष कुमार गुप्ता, प्रेमलाल साह, रमेश साह, महादेव साह, श्रीचन साह, सिकेन्द्र साह, धर्मेन्द्र साह, मोहित साह, उदय साह, जोक ठाकुर, मेघनाथ साह, मोहन साह लगायत दुई दर्जनभन्दा बढी व्यक्ति रहेका छन्।