धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताएका छन् ।
बुधबार (माघ ६) धनगढीमा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्ने लामिछानेले जनताले भोट दिने, जनतासँग नेताले वाचा गर्ने अनि सजाय फेरि भोट दिने जनताले पाउने क्रम अब नचल्ने बताए ।
उनले भने, “जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन ।”
साथै, उनले जनताको अधिकार, जनताका मुद्दालाई, सुदूरपश्चिमका मुद्दालाई माग बनाएर वर्षौं अल्झाउने काम अब बन्द गरिनुपर्ने बताए । लामिछानेले विभिन्न स्थानीय समस्यालाई वर्षौंसम्म पार्टीको एजेन्डा बनाउने र त्यसलाई भोट बैंक बनाउने काम भइरहेको पनि टिप्पणी गरे ।
फागुन २१ गते भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको उल्लेख गरे । जनताका अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्ढ्यांग्रे अक्षरमा लेख्ने युगलाई अन्त्य गरिनुपर्ने उनको भनाइ थियो ।