माठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई आफ्नै मौलिक पहिचानका आधारमा समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन्। रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले देशलाई स्विट्जरल्याण्डसँग तुलना गर्ने प्रवृत्तिको आलोचना गरे। देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्ने सुनिन्छ, तर स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ, रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, उनले भने, हामीसँग आफ्नै प्राकृतिक र सांस्कृतिक सम्पदा छ, किन अरू जस्तो बन्नुपर्यो ?
उनले आर्थिक अभावका कारण नागरिक शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने प्रतिबद्धता जनाए। विकास आयोजनामा हुने ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक आयोजना २० वर्षसम्म लम्बिन नहुने बताए। अब डेढ वर्षमै सडक निर्माण सम्पन्न गर्नुपर्छ, यही हाम्रो एजेन्डा हो, उनले भने। रास्वपा सरकारमा पुगे कांग्रेस, एमाले वा माओवादी समर्थक भन्ने भेदभाव नगरी सबै नागरिकका लागि समान रूपमा पूर्वाधार निर्माण गरिने उनले दाबी गरे। तपाईंहरूले भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ, उनले भने। सभामा उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको उल्लेख गर्दै स्थानीयसँग आवश्यक कामको सूची मागेका थिए। सुदूरपश्चिम र काठमाडौंबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको बताउँदै उनले सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित गरिनुपर्ने धारणा राखे।