काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा गर्दैछ । पार्टीका शीर्ष नेतृत्व सहभागी हुने कार्यक्रमका कारण सभा विशेष महत्वका साथ हेरिएको छ । सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने तय भएको छ ।
सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगिसकेका छन् भने शाह आज बिहान धनगढी आइपुग्ने कार्यक्रम रहेको बताइएको छ । रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्दका अनुसार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा दिउँसो १२ बजे शीर्ष नेताहरूले कार्यकर्तालाई सम्बोधन गर्नेछन् । पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षासँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
भीड व्यवस्थापन र सम्भावित चुनौतीलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार आवश्यकताअनुसार थप प्रहरी तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीसमेत क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए । सभा सफल बनाउन पार्टीले स्थानीय तहदेखि जिल्ला तहसम्मका कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरेको जनाएको छ ।