काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानवअधिकारको संरक्षण सम्बन्धमा आज नेपाल सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्दै आयोगले यस्तो आग्रह गरेको हो।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरी सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गरिएको बताए । कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन आग्रह गरेका थिए । सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले उनले सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुत निर्वाचन सम्पन्न गराउनका लागि उच्च मनोबलका साथ तयारी भइरहेको बताएका थिए ।