काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा तत्काल फिर्ता नहुने भएका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सोमबार हाल सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म रविविरुद्धका दुई मुद्दा फिर्ता नलिने आदेश जारी गरेका हुन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्देशनअनुसार महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्धका दुई गम्भीर मुद्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी फिर्ता लिने प्रक्रिया अघि बढाएकी थिइन् । उनको उक्त निर्णयविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा निवेदन दिएको थियो। पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।
सुनुवाइका क्रममा जिल्ला न्यायाधीश राईले रविलाई सहुलियत दिने गरी महान्यायाधिवक्ता भण्डारीले लिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको रिटको अन्तिम किनारा नलागेसम्म ती दुवै मुद्दा फिर्ता लिन नमिल्ने आदेश दिएका हुन् ।