काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले सरकारले गरेको १२ बुँदे सहमति कार्यान्वयन नगरे फागुन ८ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गर्ने चेतावनी दिएको छ। महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले फागुन ७ गतेसम्म सहमति कार्यान्वयन नभए आन्दोलनको कार्यक्रम तय हुने बताउँदै विज्ञप्ति जारी गरेका हुन्।
प्रसाईंका अनुसार, फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी नहुन राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, मजदुर, किसान, पत्रकार र आम नागरिकलाई अपिल गरिएको छ। सो दिन सवारी साधन, विद्यालय, प्रतिष्ठान, कलकारखाना, उद्योग र बजार व्यवसाय बन्द रहने पनि उनले बताएका छन्। यस कदमले सरकारमाथि दबाब सिर्जना गर्ने र नागरिक, व्यावसायिक र सार्वजनिक गतिविधिमा व्यापक प्रभाव पार्ने देखिएको छ।
