काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू नदेखिएको र पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको यादवले बताए। अब एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने उनको भनाई छ।
यादवले अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने देखिएको समेत दाबी गरे। यादवलाई रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले एमालेमा स्वागत गरेका थिए।
