चितवन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले मत सर्वेक्षणको नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू घरदैलो अभियानमा व्यस्त रहेको र जनताबाट पाएको माया, विश्वास र समर्थनले उत्साहित बनाएको उल्लेख गरेकी छन्।
भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गरेको अनुभव स्मरण गर्दै उनले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै आधारमा जनसमर्थन पाएको दाबी गरेकी छन्। निर्वाचनमा जित र हार दुवैलाई सहर्ष स्वीकार गर्ने बताउँदै उनले मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने आत्मविश्वास पनि व्यक्त गरेकी छन्।
यस्तै, केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षणका नाममा भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेकी छन्।