काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन-चार लाख कमाउन सकिने कुरालाई फेरि दोहोर्याएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सार्वजनिक गर्दै उनले आफूले आईटीको क्षेत्रमा गर्न चाहेको परिवर्तनको रोडम्याप बारे चर्चा गरेका छन् ।
नेपाली काँग्रेसको सूचना प्रविधि क्षेत्रमा आफ्नो धारणा भिडियो सन्देशमार्फत सार्वजनिक गर्दा आफूले कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति यत्तिकै नदिएको भन्दै सो अभिव्यक्ति आलोचित भएपनि त्यो अभिव्यक्ति आफूहरूको सपना भएको बताएका छन् ।
‘मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ भनेको थिएँ,’ थापाले भनेका छन्, ‘त्यतिबेला यो हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर, मैले त्यतिबेला हावादारी कुरा गरेको थिइन। त्यो कुनै उडन्ते सपनाको कुरा पनि होइन। गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’
सभापति थापाले पाँच वर्षभित्र करिब ४ खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्न सकिने दाबी गर्दै उनले २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने समेत दाबी गरेका छन् ।