काठमाडौँ । मुलुकले विगतमा भोगेका राजनीतिक तथा सुरक्षा सम्बन्धी अस्थिरता पुनः नदोहोरिने सुनिश्चितता गर्दै आगामी चरणमा परिणाममुखी शासन सञ्चालन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षा अनुसार राज्य सञ्चालन गर्नु अहिलेको मुख्य चुनौती भएको बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट उम्मेदवार रहेका उनले मतदातासँगको भेटघाटका क्रममा आगामी पाँच वर्ष सरकारको कार्यसम्पादन परीक्षणको समय हुने उल्लेख गरे ।
देश सञ्चालनमा उत्साहसँगै अनुभव र ऊर्जा दुवै आवश्यक रहेको उनको भनाइ थियो । नागरिकलाई प्रत्यक्ष उपलब्धि अनुभूति गराउने अवस्था सिर्जना गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै उनले सबै राजनीतिक शक्तिहरूबीच सहकार्य कायम गरी स्थायित्वतर्फ उन्मुख नीतिगत निर्णय आवश्यक रहेको बताए ।
पार्टीले कार्यसम्पादनमार्फत नतिजा देखाउने प्रतिबद्धता जनाउँदै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषि लगायत जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र सुधारमा ध्यान केन्द्रित गरिने जानकारी दिए ।