काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ । ‘सबल, समृद्ध र समुन्नत नेपाल : पृथ्वी पथ’ नारामा सार्वजनिक राप्रपाको घोषणापत्रले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र स्वदेशमै रोजगारी सिर्जनालाई प्रमुख आर्थिक एजेण्डा बनाएको छ ।
राप्रपाले २०८७ सम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने महत्त्वाकांक्षी मार्गचित्र प्रस्तुत गरेको छ । जसमा आगामी पाँच वर्षभित्र ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको संकल्प पत्रमा ‘कल्याणकारी राष्ट्रवाद र संरक्षणकारी विकासवाद’ को संयोजनबाट मात्र नेपालको मौलिकताको संरक्षण र अर्थतन्त्रको मजबुती सम्भव हुने उल्लेख गरिएको छ ।
पुँजी निर्माण, दिगो विकास, शिक्षा र स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, समतामूलक समृद्धि, युवा–केन्द्रित उत्पादन र व्यापक रोजगारी जस्ता मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न महत्त्वाकांक्षी एजेन्डा अघि सारेको छ ।