काठमाडौं । उज्यालो नेपाल पार्टीले फागुन २१ निर्वाचनलाई लक्षित गर्दै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र जलविद्युत् विकासलाई प्राथमिकतामा राख्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टीले भ्रष्टाचारविरुद्ध कडा अभियानदेखि आर्थिक समृद्धि र संरचनात्मक सुधारसम्मका महत्त्वाकांक्षी योजना अघि सारेको छ ।प्रतिबद्धतापत्र सन् २०३० सम्ममा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरको जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटी निर्यात गर्ने उल्लेख छ । सन् २०३५ भित्रमा २५ हजार मेगावाट बिजुली उत्पादन गरी निर्यात गरिने उल्लेख छ ।
प्रतिबद्धतापत्र पूर्व–पश्चिम क्षेत्रलाई पूर्ण स्मार्ट सिटीका रूपमा विकास गर्ने, नयाँ सडक विस्तार, सुरुङमार्ग, फ्लाइओभर निर्माणलगायत समेटिएको छ । साथै काठमाडौं–निजगढ–केरुङ–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लैजाने योजना अघि सारिएको छ । पार्टीले प्रत्येक नागरिकलाई विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाएको छ ।