काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएकी छन्। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरेकी हुन् ।
नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि गरेको उनको भनाइ छ । तराईका केही स्थानमा जनसंख्याको चापका कारण सामान्य हुलदङ्गा र बुथ कब्जा हुनसक्ने सम्भावना रहे पनि समग्रमा सुरक्षा स्थिति नियन्त्रणमै रहेको जिकिर गरिन् ।
पहाडमा भने ढुवानी र निरीक्षणमा भौगोलिक कठिनाइ भएपनि शान्तिपूर्ण वातावरण देखिएको उनको भनाइ छ । उनले निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग नियमित समन्वय गरिरहेको र फागुनको तेस्रो हप्तासम्म मौसम अनुकूल रहने प्रक्षेपण गरिएकाले हिमपातको जोखिम कम रहेको बताइन् ।