काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादवले ‘सशक्त संघीयता, समृद्धि र समावेशी विकास’ भन्ने नारासहित २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकता दिइएको छ । पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ ।