काठमाडौँ। आज देशभर ३०औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । तत्कालिन माओवादीले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र जनयुद्ध केवल एउटा राजनीतिक आन्दोलन मात्र नभएर यो नेपालको राज्य संरचना, शासन प्रणाली र समाजको आधारभूत चरित्र परिवर्तन गर्ने निर्णायक मोडका रुपमा लिइन्छ ।
दश वर्षसम्म चलेको जनयुद्धले नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा ल्यायो, एकात्मक शासनलाई सङ्घीयतामा रूपान्तरण गर्यो र राज्यको शक्ति संरचनामा यूगौँदेखी किनारामा पारिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा ल्याउने बाटो खोल्यो। तर यो परिवर्तन सहज थिएन यसका लागि हजारौँ जीवनले मूल्य चुकाए। राष्ट्रियता,धर्मनिरपेक्षता,समावेशिता,संघियता लगायत शोषित उत्पीडित वर्ग,समुदाय र क्षेत्रका लागि परिवर्तनको मुल जनयुद्दलाई मानिन्छ ।
सरकारी तथ्याङ्कअनुसार जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट गरी १७ हजारभन्दा बढीले ज्यान गुमाए, हजारौँ घाइते भए र सयौँ अझै बेपत्ता छन्। प्रत्येक सहिदको नामसँग एउटा अधुरो परिवार, एउटा टुटेको सपना र एउटा मौन पीडा जोडिएको छ ।
जनयुद्धको सुरुवात भएको रुकुमपूर्वमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ पुगेका नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुमपूर्व, जुन पहिले राज्यको दृष्टिबाट टाढा थियो, आज सङ्घीय संरचनामा एउटा अलग जिल्लाका रूपमा स्थापित छ जस्लाई जनयुद्धले ल्याएको परिवर्तनको प्रतीक मानिन्छ ।
जनयुद्द पछि देशमा भएको आमुल परिवर्तनसँगै प्रश्नहरू पनि बाँकी छन्। सहिद परिवारको जीवन अझै संघर्षपूर्ण छ, बेपत्ता परिवार न्यायको प्रतीक्षामा छन्, र द्वन्द्वकालीन घटनाको सत्य खोज्ने प्रक्रिया अझै अधुरो छ । जनयुद्धले ल्याएको परिवर्तनको सपना कति पूरा भयो भन्ने बहस अझै जारी छ ।
यसैबिच नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व पुगेका छन् ।