काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
बुधबार नेकपा म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो सार्मथ्यका साथ पहिलो शक्ति बन्ने बताए ।
नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरूसँग चुनावलक्षित कुराकानी हुने गरे पनि तालमेलका प्रस्तावलाई चासो नदिएको संयोजक प्रचण्डले बताए । तालमेल नगरी सबैभन्दा बढी सिट जित्ने प्रचण्डको दाबी छ । “विचार र राजनीतिक मुद्दाको आधारमा चुनावमा होमिएकाले देशभर महोल हाम्रो पक्षमा छ,” संयोजक प्रचण्डले भने ।
राजनीतिक दलमा नाम, चुनाव चिह्नले नेपाली कम्युनिस्ट पार्टी मात्रै देशको नयाँ पार्टी भएको बताए । “सामाजिक सञ्जालमा नयाँ भनेर स्टन्ड गदै जनतामा भ्रम छरेको देखिन्छ, गणतन्त्र, संघियता, समावेशी, समानुपातिकको मुद्दा बोक्ने मात्रै नयाँ हुन्छ,” संयोजक प्रचण्डले भने ।
जेनजी आन्दोलपछि संघीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई दुर्घटना हुनबाट जोगाएको प्रचण्डको जिकिर थियो । प्रचण्डले भ्रष्टाचारको पक्षधरसँग चुनावमा गठबन्धन नगरी अगाडि बढेको अवस्थामा जेनजी पुस्ताबाट समेत सहयोग मिलेको बताए ।
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने र एकैपटक देशभर सञ्चालन हुने बताए ।
घर–घरमा पुगेर पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रसहित सरकारको नेतृत्वमा हुँदा गरेका राम्रा कामहरूको मसिनो ढंगले मतदातालाई बुझाउन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।