काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकार ‘चिरनिद्रामा’ रहेको आरोप लगाउँदै मुख्यमन्त्रीको राजीनामा मागेको छ । साबिक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकतापछि प्रदेशसभामा ठूलो दल बनेको नेकपाले बुधवार पत्रकार सम्मेलन गरी सरकारविरुद्ध १२ बुँदे अभियोग सार्वजनिक गरेको हो । दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधाभन्दा बढी अवधि बितिसक्दा पनि प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको खाडलमा फसेको आरोप लगाए ।
नेकपाले प्राकृतिक विपत्ति, दुर्घटना वा संकटका बेला सरकारले विज्ञप्ति जारी गर्ने र राहतको नाममा रकम घोषणा गर्नेबाहेक ठोस काम गर्न नसकेको आरोप पनि लगाएको छ । बैतडी बस दुर्घटनाको छानबिन गर्न नसकेको उल्लेख गर्दै भट्टले भूकम्प, बाढी, आरक्ष तथा पहिरो पीडितहरूको पुनस्र्थापना प्रभावकारी रूपमा हुन नसकेको दाबी गरे ।
प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माणमा ढिलाइ, बजेट कार्यान्वयन कमजोर हुनु, मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म बेथिति मौलाउनु, अस्पतालहरूमा नियुक्ति प्रक्रिया ढिला हुनु तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न नसक्नु सरकारको लाचारी पन रहेको नेकपाले आरोप लगाएको छ ।
यस्तै, नीति आयोगमा बेथिति, आयोजना नै नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालय स्थापना गरी मनपरी खर्च, ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिनु तथा समग्र रूपमा सुशासन, पारदर्शिता र जबाफदेहिताको अभाव रहेको आरोप पनि नेकपाले लगाएको छ ।
नेकपाले १२ बुँदे अभियोगप्रति सरकार गम्भीर नबने जनआन्दोलनसम्मको विकल्प खुला रहने चेतावनी दिँदै मुख्यमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको छ ।