काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उमेदवार रहेका डा. राजीव कुमार झाले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गरेका छन् ।
आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको भन्दै अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएकाले सहयोग गर्न उमेदवारी फिर्ता लिएको र रास्वपामा प्रवेश गरेको बताएका छन् ।

देश परिवर्तनको दिशामा अघि बढिसकेको भन्दै आफू त्यसको बाधक बन्न नचाहेको उनको भनाइ छ । उनले लामो समयदेखि राष्ट्र मुक्ति पार्टी रहेर काम गरेको र युवाहरुले परिवर्तन खोजिरहेकाले उनीहरूको भावना र चाहनालाई सम्मान गर्न आफुले उक्त निर्णय लिएको बताए । उनले उक्त निर्णय नितान्त राष्ट्र, युवा पुस्ताको भावना र समावेशी नेपालको भविष्यका लागि रहेको जानकारी दिए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट ०७४ मा अहिलेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष रहेका राजेनद्र महतो (तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल) निर्वाचित भएका थिए । आगामी निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।