काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।
प्रवक्ता चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ । ढिलोमा २ गते सार्वजनिक गछौँ ।’ उनका अनुसार प्रतिज्ञापत्र फागुन १ गते सार्वजनिक गर्ने लक्ष्य राखिएको भए पनि कुनै कारणवश ढिलाइ भए फागुन २ गतेभित्र अनिवार्य रूपमा सार्वजनिक गरिनेछ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो । कांग्रेसले यस पटक परम्परागत घोषणा पत्रको सट्टा प्रतिज्ञा पत्रमार्फत जनतासँग स्पष्ट र कार्यान्वयनयोग्य प्रतिबद्धता प्रस्तुत गर्ने जनाएको छ । प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकता दिइने पार्टीको भनाइ छ ।